मंसिर १७, २०८२ बुधबार

जनार्दन घिमिरे

गुल्मी, १७ मङ्सिरः जिल्लामा यस वर्ष रु २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस पटक  जिल्लामा सुन्तलाको उत्पादन घटेको हो । 

    गत वर्ष रु २४ करोड ५० लाखभन्दा बढीको सुन्तला उत्पादन भएकोमा यस पटक उत्पादन ३२ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपाने जानकारी दिनुभयो । जिल्लामा यस वर्ष रु २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । 
     
    सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका कृषकले यस पटक अपेक्षा गरेअनुसार सुन्तला उत्पादन नभएको बताएका छन् । सुन्तलाखेतीबाट यहाँका कतिपय कृषकले वार्षिक रु पाँच लाखभन्दा बढीको सुन्तला बिक्री गर्दै आइरहेका छन् । 

जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक रु दश करोड मूल्य बराबरको सुन्तला मात्र जिल्ला बाहिर निर्यात हुने कार्यालयले जनाएको छ । गुल्मीबाट गत वर्ष रु १३ करोड बराबरको सुन्तला जिल्ला बाहिर निर्यात भएकोे थियो । 

सुन्तलाको उत्पादन घट्नुमा बेमौसमी वर्षा, कृषकहरुले बगैँचा व्यवस्थापनमा ध्यान नदिनु, सानैमा फल झर्ने समस्या, रोग÷किराको प्रकोप बढ्नु, सुन्तलालाई उचित मलखाद तथा सिँचाइ नहुनुु, समयमा सुन्तलाको बोट काँटछाट नगर्नु जस्ता मुख्य कारण रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिनुभएको छ ।

यहाँका कृषकहरुले परम्परागत रुपमा सुन्तलाखेती गर्दैै आएका छन् ।  परम्परागत खेतीका कारण समय समयमा सुन्तलाका फँेद र जरा कुहिने समस्याका कारण सुन्तलाको उत्पादनमा कमी आउँदै जान थालेको धुर्कोट गाउँपालिकाका–२ पिपलधाराका कृषक शिवलाल खनालले बताउनुभयो । सुन्तला बगैँचामा समयमै मलखादको व्यवस्थापन र सूक्ष्म तत्वको प्रयोग गर्नेहो भने उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।

जिल्लामा अधिकांश कृषकहरुले सुन्तला बगैँचामा बिजु बिरुवाहरु रहेका छन् । यहाँका सुन्तला बगैँचाहरुमा ९५ प्रतिशतभन्दा धेरै बिजु विरुवाका बोट छन् । कलमी बोटहरुले भन्दा बिजु बिरुवाले लामो समयसम्म फलदिने भएका कारण यहाँका कृषकले बिजु बिरुवाको प्रयोग गर्दै आउनुभएको हो । 

जिल्लामा सुन्तलाको कूल ८८५ हेक्टर क्षेत्रफलमध्ये हाल ६१५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गर्दछ । व्यावसायिक रुपमा भने सुन्तलाखेती गर्ने कृषकको सङ्ख्या त्यति धेरै छैन । जिल्लाका ९३ वडामध्ये ३६ वडामा सुन्तला जातका फलफूल जोन कार्यक्रम लागू भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कृषि इन्जिनियर विष्णुप्रसाद पोख्रेलले बताउनुभयो । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा तथा सत्यवतीको लिम्घा र रेसुङ्गाको अर्खलेलगायतका ठाउँमा चक्लाबन्दी गरी व्यावसायिक सुन्तलाखेती सुरु गरिएको छ । 
      
    गुल्मीको सुन्तला निकै रसिलो र स्वादिलो हुनेभएका कारण बजारमा यहाँको सुन्तलाको राम्रो माग हुँदै आएको छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाबाट व्यापारी घरमै पुगेर सुन्तलाको बगँैचा खरिद गर्ने गर्दछन् । अहिले बजारमा गुल्मीको सुन्तलाको थोक मूल्य रु ४० देखि खुद्रा मूल्य रु १०० सम्म रहेको छ ।
     
    सुन्तलाजात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनि सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रममार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ । 

    सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँटलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले बताउनुभयो ।

जिल्लामा धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मीदरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने सुन्तलाको मुख्य पकेट क्षेत्रको रुपमा रहेका छन् ।