मंसिर १७, २०८२ बुधबार

काठमाडौँ, १७ मङ्सिरः नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ । 

    महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको  प्रतिनिधि छनोट सकिएको छ । उहाँले ती दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिनुभयो । केही जिल्लामा प्रतिनिधि छनोट विधिअनुसार नभएकाले छानबिन भइरहेको उहाँले बताउनुभयो ।  सचिव ढुङ्गेलले सबै जिल्लाबाट छनोट गरिएका प्रतिनिधि प्रदेश कमिटीको कार्यालयमा विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । 

    “प्रतिनिधिका विवरण प्रदेश कमिटीमा महाधिवेशन शुल्कसहित सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो, “एक दुई दिनमा सवै प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा आउने छ र हामीले उक्त प्रतिनिधि कार्ड बनाएर वितरण गर्ने छौँ ।” महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनमा सहभागी हुने आयोजकलाई तीन हजार र प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकिएको छ । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।