महोत्तरी, १७ मङ्सिरः पछिल्ला केही वर्षयता जिल्लामा कोदोखेतीको क्षेत्रफल बढ्दै गएको छ । चार दशक पहिले मुख्यबालीका रूपमा मानिएको कोदोको प्रयोग पछिल्लो केही वर्षयता कम हुँदै गएपनि स्वास्थ्यका दृष्टिकोणले कोदो उपयुक्त मानिने भएकाले यसको प्रयोगकर्तासँगै खेतीको क्षेत्रफल पनि बढ्दै गएको हो ।
आर्थिक वर्ष २०७८/२०७९ मा जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा भएको कोदोखेती गत आवमा आइपुग्दा ३७५ हेक्टरमा विस्तार भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । चालु आवमा करिब ४०० हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती भएको कार्यालयका सूचना अधिकारी अविरलकुमार महतोले जानकारी दिनुभयो ।
“चार दशक पहिले कोदो जिल्लाको मुख्यबालीका रूपमा रहेको तत्कालीन समयका कृषि विज्ञले बताउनुभएको थियो । तर कार्यालयमा यकिन तथ्याङ्क र कुनै अभिलेख भने भेटिएन”, कार्यालयका कृषि विज्ञसमेत रहनुभएका महतोले भन्नुभयो, “तर पछिल्ला तीन–चार वर्षयता कोदोखेती अलिअलि गरेर बढेको छ ।” उहाँका अनुसार चार वर्षयता कोदोबाली लगाउने क्षेत्रफलसँगै उत्पादन पनि बढेको छ ।
“आर्थिक वर्ष २०७८/२०७९ मा ३३० मेट्रिकटन उत्पादन भएको थियो, त्यसयता यो बर्सेनि अलिअलि बढ्दै गएको छ । आव २०८१/८२ मा आइपुग्दा ४१३ मेट्रिकटन उत्पादन भएको छ”, सूचना अधिकारी महतोले भन्नुभयो, “यसपालिको हिउँदे बाली धमाधम काट्ने, माड्ने र थन्क्याउने काम भइरहेकाले तथ्याङ्क सङ्कलनमा केहीदिन लाग्न सक्छ, तर जिल्लाभरिबाट प्राप्त सूचनाका आधारमा यसपालि करिब ५०० मेट्रिकटन उत्पादन पुग्ने आकलन गरिएको छ ।”
पछिल्ला केही दशकयता असन्तुलित खानपिन र दूषित वातावरणले मधुमेहलगायत नसर्ने रोग बढ्दै गएको छ । रगतमा चिनीको मात्रा बढ्ने समस्या देखिन थालेसँगै यसको नियन्त्रणका लागि कोदोको प्रयोग बढाउन चिकित्सकले सुझाव दिँदै आएका छन् । सोही कारणले यहाँका किसानले पनि पुनः कोदोखेती विस्तार गर्दै लगेका महतोले धारणा राख्नुभयो ।
बर्दिबास नगरपालिका–२ बुद्धचोकका श्याम यादवले यसपालि आफैँले कोदोखेती गरेको बताउनुभयो । मधुमेहको मात्रा बढेपछि चिकित्सकले कोदोका परिकार सेवान गर्नु प्रभावकारी हुने सल्लाह दिएपछि करिब चार कठ्ठामा खेती गरेको उहाँको भनाइ छ ।
“चिकित्सकले खानेकुरामा कोदोको परिकार बढाउन सल्लाह दिएका छन् । किनेर उपभोग गर्न पनि बजारमा प्रशस्त मात्रामा भेटिँदैन, त्यसैले यसपालि आफैँले कोदो लगाएको हुँ”, यादवले भन्नुभयो, “वर्षभरिलाई एक छाक खान पुग्ने कोदो फलेको छ, यसले स्वास्थ्य सुधार हुने विश्वास छ ।” आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएको उहाँले उल्लेख गर्नुभयो ।
भङ्गाहा नगरपालिका–४ का गङ्गाराम महतो र सोही बस्तीका भरतराज बरालले पनि बाँझो बारीमा आफैँले कोदोखेती गर्नुभएको छ । महतोले पाँच कठ्ठा र बरालले तीन कठ्ठामा कोदो लगाउनुभएको थियो । कोदो अरु अन्नबालीभन्दा पानी र खडेरी बढी खप्ने, कीरा र रोगको सङ्क्रमण कम हुने र यो लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले खेती गर्न सजिलो हुने महतोले बताउनुभयो । महतो र बराल दुवैले स्वास्थ्य जाँचपछि रगतमा चिनीको मात्रा नियन्त्रणका लागि कोदोको परिकार उपयुक्त हुने चिकित्सकको सल्लाहपछि खेती गर्न लागेको बताउनुभयो ।
“नजानेको/नबुझेको बाली होइन, २०४० सालअघि एक बिघासम्ममा पिताले खेती गर्नुहुन्थ्यो । पिताजीको निधनपछि यसको खेती गर्न छाडिएको थियो”, महतोले भन्नुभयो, “अब आफ्नै खानपिनका लागि फेरि यो खेती बढाउने निर्णयमा पुगेको छु ।” चार दशकअघि कोदो बिक्री गर्दा पनि कम मूल्य पाइने भएपछि खेती गर्न छोडेको उहाँको भनाइ छ । “अहिले धान, गहुँभन्दा यसको मूल्य बढी पाइने अवस्था छ । आर्जनका लागि पनि कोदोखेती बढाउँदै लग्ने योजना छ”, महतोले भन्नुभयो ।
पछिल्लो समय कोदोको खपत बढेसँगै उत्पादन पनि बढ्न थालेको छ । यसको मुख्य कारण मधुमेहका बिरमीको सङ्ख्या बढेसँगै बजारमा कोदोको माग र मूल्य दुवै बढेको पूर्ववरिष्ठ कृषि विज्ञ रामबहादुर भुजेलले बताउनुभयो ।
कोदोमा पाँचदेखि आठ प्रतिशतसम्म प्रोटिन हुने, यो शारीरिक विकासमा सहयोगी हुने, ‘ग्लुटेनफ्री’ हुने र मधुमेहका बिरामीका लागि रोग नियन्त्रण गर्न सहयोगी हुने भएकाले यसको उपयोग बढाउनुपर्नेमा बर्दिबास नगरका स्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानले जोड दिनुभयो । साथै कोदोमा फाइबर बढी पाइने हुँदा यसको सेवनले तौल सन्तुलन गर्न र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी हुने उहाँको भनाइ छ ।
प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियमलगायत पौष्टिक तत्व कोदोमा पर्याप्त मात्रामा हुने हुँदा यसका परिकार स्वस्थ्यकर हुने स्वास्थ्यकर्मी बताउँछन् । अहिले कोदोको माग र मूल्य बढेसँगै किसान यसको खेतीमा आकर्षित हुँदै गएका छन् ।
स्थानीय सरकारले आ–आफ्ना कृषि शाखामार्फत उन्नत जातका कोदोको बीउ, प्राविधिक सल्लाह र रेखदेख तथा आवश्यक प्रविधिमा सहयोग बढाएमा यसको क्षेत्रफलसँगै उत्पादनसमेत बढ्ने अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य लक्ष्मण महतोले बताउनुभयो ।