जुम्ला, १७ मङ्सिरः जुम्लाको सिञ्जा गाउँपालिकाले सञ्चालन ल्याएको बृहत् विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरबाट २७२ जनाले सेवा लिएका छन् । गाउँपालिकाको ग्रामीण भेगमा पर्ने वडा नं ६ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १५२ महिलासहित २७२ जनाले सेवा लिएका हुन् ।
शिविरमा महिलाको पाठेघरसम्बन्धी स्वास्थ्य परीक्षण, हाडजोर्नीसम्बन्धी चेकजाँच, बालरोगसम्बन्धी, अन्य सामान्य परीक्षण, किशोरकिशोरी परिवार नियोजन परामर्शलगायत सेवा दिइएको हो । शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले स्थानीयको स्वास्थ्य चेकजाँच गरेका गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
उक्त शिविर गाउँपालिकाको आयोजना र गैरसरकारी संस्था पेस नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिनुभयो । स्थानीयस्तरबाट स्वास्थ्य जाँच सेवा पाएपछि स्थानीय खुसी भएका उहाँको भनाइ छ ।