काबुल, १७ मङ्सिर : अफगानिस्तानमा अनुमानित १५ लाख मानिसहरू गम्भिर अशक्तताका साथ बाँचिरहेको अफगानिस्तानमा सक्रिय संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले बुधबार बताएको छ । मुलुकमा व्याप्त दशकौंको द्वन्द्वका कारण यस्तो समस्याको सामना गर्न बाध्य भएको मिसनले जनाएको छ ।
सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा, युएनएएमएले निर्दोश बालबालिकाहरूले द्वन्द्वको कारण अशक्तताको सामना गर्नु परेको उजागर गरेको छ ।
पछिल्लो समयमा अफगानिस्तान विश्वको सबैभन्दा बढी खानी–दूषित देशहरू मध्ये एक बनेको छ भने चार दशक भन्दा लामो द्वन्द्वका कारण बाँकी गोलाबारुद र बारुती सुरुङ्हरूले दैनिक ज्यान लिनुका साथै गम्भीर घाइते हुने गरेको मिसनले जनाएको छ ।
पछिल्लो दुई हप्तामा मात्रै, दक्षिणी प्रान्त कान्दाहार र उरुजगनका साथै उत्तरी बाल्ख प्रान्तमा युद्धका विस्फोटक अवशेषहरूमा भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।
अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले देशको लगभग एक हजार १५० वर्ग किलोमिटर क्षेत्र बारुती सुरुङ् र युद्धका अन्य विस्फोटक अवशेषहरूले दूषित रहेको जनाएको छ ।