सिमकोट (हुम्ला), १७ मङ्सिरः आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा दुई वटा मतदानस्थल थपिएका छन् ।
जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ समितिको मागलाई निर्वाचन आयोगले सम्बोधन गर्दै दुई वटा मतदानस्थल आयोगले थप्ने निर्णय गरेको हो । आयोगले दुई वटा मतदानस्थल थप्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकृत भीमबहादुर रोकायाले बताउनुभयो । नयाँ मतदानस्थल थपिएको परिपत्र आयोगबाट आइसकेको उहाँले जानकारी दिनुभयो ।
हाल कायम रहेका मतदानस्थलबाहेक थप गरिएका मतदान स्थलहरुमा चङ्खेली गाउँपालिका–२ को महादेव मावि दार्मा मतदान केन्द्रबाट छुट्याएर देवकोटा बाडा र भट्टेबाडाका मतदाताका लागि महाकति लक्ष्मी आवि नयाँ मतदानस्थल कायम भएको छ भने नाम्खा गाउँपालिका–१ को ताङ्गिन गाउँका मतदाताहरुका लागि नमोडाछेमु आविलाई नयाँ मतदानस्थलका रुपमा कामय भएको निर्वाचन अधिकृत रोकायाले बताउनुभयो ।
महाकवि लक्ष्मी आवि मतदान केन्द्रमा ४५२ जना मतदाता र नमोडाछेमु आविलाई नयाँ मतदानस्थलको मतदान केन्द्रमा १८५ मतदाता छन् । मतदाता सङ्ख्या बढी र मतदानस्थलसम्म पुग्न तीन घण्टासम्म पैदल हिँड्नुपर्ने भएपछि जिल्लाबाट ती मतदानस्थल थप गर्नका लागि आयोगलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरिएको हो ।
यसैगरी, जिल्लाभरका मतदान केन्द्रमा एक हजारभन्दा बढी मतदाता भएका मतदान केन्द्रहरुमा मतदान केन्द्र ‘क’ र ‘ख’ निर्धारण गर्न पनि समितिको बैठकले सिफारिसको भए पनि त्यसको विस्तृत विवरण भने आइसकेको छैन । अब आगामी निर्वाचनका लागि हुम्लामा ६० मतदानस्थल र ६१ वटा मतदान केन्द्र कायम भएका छन् । मङ्सिर ५ गते तोकिएको अवधिमा हुम्ला जिल्लाको मतदात सङ्ख्या ३४ हजार ५०२ मतदाता छन् । यसअघि २०७९ सालको निर्वाचनमा हुम्ला जिल्लामा ५८ मतदानस्थल कामय गरिएका थिए ।