काठमाडौँ, १७ मङ्सिर : विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ ‘१३औँ नेपाल मानव अधिकार अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ काठमाडौँमा हुने भएको छ ।
आगामी मङ्सिर २५ देखि २९ गतेसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा हुने पाँच दिने महोत्सवमा यस वर्षको मूल विषयवस्तु ‘बाल अधिकार’ रहेको महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले २६ देशका ५० चलचित्रहरू प्रदर्शन गर्नेछौँ । महोत्सवमा छानिएका धेरैजसो चलचित्रले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तरराष्ट्रिय महोत्सव सहभागिता जनाइसकेका छन् । हामीले देखाउने चलचित्रले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पु¥याउनेछन् ।”
उहाँले ‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’, सोही महोत्सवमा पहिलोपटक प्रदर्शनी गरिएको ‘नाभी लिली’ बजिका भाषामा बनेको पहिलो ‘फिचर’ चलचित्र ‘आजुर’ लगायत महोत्सवको आकर्षण रहेको जानकारी दिनुभयो ।
महोत्सवका क्रममा विश्वभरका चलचित्र निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीहरूको उपस्थितिमा अन्तरक्रियात्मक समूहगत छलफल, फोटो प्रदर्शनी, ‘लाइभ पेन्टिङ’ लगायत विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकले जनाएका छन् ।