वासिङ्टन, १८ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहनुभएको धारणा दिएको बताउनुभएको छ ।
बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफ तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्कोमा राष्ट्रपति पुटिनसँग पाँच घण्टा लामो विस्तृत वार्ता गर्नुभएको थियो । उक्त छलफल सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन द्वन्द्वलाई अन्त्यतिर लैजान केन्द्रित थियो ।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “पुटिनले हिजो जारेड कुशनर र स्टिभ विटकफसँग निकै सकारात्मक भेट गर्नुभयो । त्यसबाट के निष्कर्ष निस्किन्छ भन्ने अहिले भन्न सकिन्न, किनकि यस्तो प्रक्रियामा दुवै पक्षको बराबर प्रयास आवश्यक हुन्छ । तर हाम्रो प्रतिनिधिमण्डलले उहाँ युद्धको अन्त्यतिर लाग्नुभएको छ भन्ने अनुभूति लिएर फर्किएको छ ।”
यद्यपि, क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले वार्तालाई ‘द्वन्द्व सुरु भएदेखि भएको सबैभन्दा व्यापक आदानप्रदान’ भने पनि मुख्य विषयमा कुनै ठोस सम्झौता नभएको पुष्टि गर्नुभयो । उहाँका अनुसार समाधानका सम्भावित मार्गहरूको विस्तृत समीक्षा भए पनि प्रमुख विवादहरू यथावत् रहे ।
“हामी अहिले पनि युक्रेन सङ्कट समाधानको नजिक पुगेका छैनौँ । अझ धेरै काम गर्न बाँकी छ”, उसाकोभले भन्नुभयो । उहाँका अनुसार चर्चाहरू राति ढिलोसम्म चले पनि ठोस प्रगति देखिएन ।
रुसी पक्षबाट लगानी दूत किरिल दिमित्रिभसहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको उक्त वार्तामा अमेरिकाले नयाँ प्रस्तावहरू पेस गरेको पुष्टि गरिएको छ । तर युक्रेनी भूभागसँग सम्बन्धित जटिल मुद्दाहरू प्रमुख अवरोधका रूपमा रहिरहे ।
उसाकोभका अनुसार दुवै पक्षले वार्ताको विवरण गोप्य राख्ने सहमति गरेका छन् । “छलफल गोप्य थियो र यसको सार हामी सार्वजनिक गर्दैनौँ”, उहाँले भन्नुभयो ।
यद्यपि, उहाँले कूटनीतिक संवाद निरन्तर हुने उल्लेख गर्दै पुटिनले विटकफमार्फत राष्ट्रपति ट्रम्पलाई ‘महत्त्वपूर्ण राजनीतिक सन्देशहरू’ पठाउनुभएको बताउनुभयो । “अमेरिकी टोलीले आफ्ना निष्कर्षहरू राष्ट्रपति ट्रम्पलाई पेश गर्नेछ र हामीसँग थप सम्पर्क हुनेछ”, उहाँले भन्नुभयो ।
अमेरिकी प्रतिनिधिमण्डलसँग भेटभन्दा केहीअघि पुटिनले युरोपेली संलग्नताप्रति असन्तुष्टि व्यक्त गर्दै युरोपेली सङ्घ (इयु) का सरकारहरूले शान्ति प्रक्रियालाई अवरुद्ध गर्ने उद्देश्यले प्रस्तावहरू अघि सारिरहेको आरोप लगाउनुभएको थियो ।
–––