म्याग्दी, १८ मङसिरः जिल्लाको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने एक सय २९ वटा आयोजना तथा कार्यक्रम छनोट गरेको छ ।
गत असारमा भएको २४औँ गाउँसभाले पुँजीगत शीर्षकमा पूर्वाधारतर्फ रु १० करोड ७५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५२ लाख, आर्थिक विकासतर्फ रु ५२ लाख पाँच हजार र सामाजिक विकासतर्फ रु दुई करोड १५ लाख १६ हजार बजेट बिनियोजन गरेको थियो ।
गाउँपालिकाले बजेट विनियोजन गरेका एक सय एक, सङ्घीय र प्रदेश सरकारका हस्तान्तरित, समपूरक र विशेष अनुदानका नौ तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका १९ वटा योजना रहेका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
पूर्वाधारतर्फ सडक निर्माण, स्तरोन्नति, पदमार्ग, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, ढल व्यवस्थापन, भवन, विद्यालय पूर्वाधारलगायत योजना छन् । दुई वटा योजनाको ठेक्का आह्वान र १३ वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । उहाँका अनुसार रु १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढीका ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नीति पालिकाले लिएको छ ।
यही मङसिरभित्र योजना सम्झौता गरी चैतसम्म अन्तिम भुक्तानी गर्ने लक्ष्य राखिएको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ता समितिको सहजताका लागि पालिकाको केन्द्र मुनामा रहेको कार्यालयमा आउन अपायक पर्ने मुदी, मराङ, ताकम र मल्कवाङको वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्ने व्यवस्था मिलाएको छ ।
यस वर्ष प्रशासकीय भवन, मुदीको वडा र ताकमको अस्पताल भवन निर्माणलाई पूर्णता, गुर्जा र भेडिखाल्टा बस्तीलाई सडक सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
जलजलामा पर्यटन महोत्सव, स्थानीय मदिराको ब्राण्डिङ र युवालाई बिनाधितो सहुलियत ब्याजदरमा ऋण दिने कार्यक्रम पनि कार्यान्वयन गरिने गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो ।