मंसिर १९, २०८२ शुक्रबार

दमौली (तनहुँ), १९ मङ्सिरः पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाका स्थानीय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुदानको कार्यक्रम ल्याएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । त्यसकारण जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ ।

    आर्थिक वर्ष २०८१÷८२ मा जिल्लामा ७४ हजार ७५५ मेट्रिकटन दूध उत्पादन भएको कार्यालय प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा ७३ हजार ५७२ मेट्रिकटन दूध उत्पादन भएको थियो । उहाँका अनुसार एक हजार १८२ मेट्रिकटन दूध उत्पादनमा वृद्धि भएको छ । 

    जिल्लाभर १३ हजार ९९२ दुधालु गाई, २१ हजार ५०३ दुधालु भैँसीको सङ्ख्या रहेको कार्यालयले जनाएको छ । दुधालु गाईको सङ्ख्या ३०४ र भैँसीको सङ्ख्या २६१ ले वृद्धि भएको छ । 

    यस्तै जिल्लामा ऊन उत्पादनसमेत वृद्धि भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा २८९ किलो ऊन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा २७३ किलो ऊन उत्पादन भएको थियो । जिल्लामा भेडाको सङ्ख्या ७२३ रहेको छ ।

    तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर छ । प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यकता पर्नेमा ११८ दशमलव ५४ लिटर उपलब्धता रहेको अधिकारीले बताउनुभयो । त्यस्तै प्रतिव्यक्ति १४ किलो मासु आवश्यक पर्नेमा १४ दशमलव ४१ किलो उपलब्धता रहेको छ । अण्डा ४८ गोटा आवश्यक पर्नेमा ८३ गोटा उपलब्धता छ । दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशमलव ४१ किलो र अण्डामा ३५ गोटाले बढी छ । माछामा भने तनहुँ आत्मनिर्भर बन्न सकेको छैन । प्रतिव्यक्ति सात किलो माछा आवश्यक पर्नेमा शून्य दशमलव २८ किलो मात्रै उपलब्धता छ । 

    दूधमा अनुदानबापत रु ९७ लाख वितरण

    कार्यालयले दुग्ध उत्पादक कृषकलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो । 

    केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा कृषकलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरिएको थियो । अधिकारीले उत्पादनका आधारमा अनुदान दिने नीतिले दुग्ध उत्पादनतर्फ कृषक आकर्षित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुग्ध उत्पादनमा कृषकलाई आकर्षित गराउने उद्देश्यसहित प्रतिलिटर रु तीनका दरले अनुदान वितरण गरेका छौँ ।”