काठमाडौँ, १९ मङ्सिरः सरोकार भएकाहरूले नेपालमा मस्तिष्कघातको अध्ययन अनुसन्धानका विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल मस्तिष्कघात सङ्घद्वारा आज यहाँ आयोजित ‘मस्तिष्कघातको वर्तमान अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदम’ सम्बन्धी कार्यशालामा सहभागीले अनसन्धान त्यसका निष्कर्षको कार्यान्वयनमा जोड दिएका हुन् ।
सङ्घका निवर्तमान अध्यक्ष डा राजु पौडेलले मस्तिष्कघात हुन नदिने उपाय, भइहालेमा समयमै उपचार र उपचारपछिको अपनाउनुपर्ने सावधानीलगायत विषयमा छलफल भएको बताउनुभयो । “समयको परिवर्तनसँगै परम्परागत उपचार विधिलाई कसरी आधुनिकतर्फ लैजान सकिन्छ, नेपालका सन्दर्भमा यसको उपचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे कार्यशालामा छलफल भएको छ”, उहाँले भन्नुभयो,“सङ्घले नेपालमा मस्तिष्कघातको उपचारबारे निर्देशिका तयार गरी सरकारलाई बुझाइसकेको छ । त्यसको कार्यान्वयनका विषयमा पनि छलफल भएको छ ।”
नेपालमा प्रत्येक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको तथ्याङ्क छ । सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने र १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको हो ।
एक जटिल शारीरिक अवस्थाका रूपमा रहेको मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै ‘मस्तिष्कघात’ भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्ने चिकित्सकले बताएका छन् ।
वरिष्ठ न्युरोलोजिष्ट डा लेखजङ्ग थापाले नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल मस्तिष्कघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम गरिँदै आएको बताउनुभयो । सङ्घले हालै विश्वका विभिन्न देशका पाँच सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा ‘हिमालय अन्तरराष्ट्रिय मस्तिष्कघात सम्मेलन’ आयोजना गरिसकेको उहाँले बताउनुभयो ।
मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने सहभागीले बताएका छन् । विश्वमा हरेक चार जनामा एक जनालाई र तीन सेकेन्डमा एक जनालाई पक्षघातको सम्भावना हुने भएकाले यसबाट सजग हुनुपर्ने बताइएको छ ।