मंसिर १९, २०८२ शुक्रबार

जनकपुरधाम, १९ मङ्सिर : मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गर्नुभएको छ ।

मधेस प्रदेशका विभिन्न छवटा राजनीतिक दलको सहमति र समर्थनको आधारमा मुख्यमन्त्री पदका लागि उहाँले मधेस प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष दाबी पेस गर्नुभएको हो ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपा नेपाल पार्टी गरी छ राजनीतिक दलको आज बसेको बैठकले मुख्यमन्त्री पदमा नियुक्तिका लागि समर्थन गरेको हो । सो समर्थनमा ७७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेस प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गर्न तपसिलबमोजिमका दलहरूको समर्थन र हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि छ राजनीतिक दलका तर्फबाट दाबी प्रस्तुत गरेको पत्रमा उल्लेख छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त सरकारका लागि मिति २०८२ मङ्सिर १७ गते आह्वानको सूचना भएकाले सोही सूचना भएबमोजिम प्रदेश प्रमुख कर्णसमक्ष सो पत्र कृष्णप्रसाद यादवले बुझाउनुभएको हो ।