काठमाडौँ, १९ मङ्सिर : चौधौँ काठमाडौँ महानगरपालिका (कामपा) महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका दिवसका अवसरमा १३ जना अवकाशप्राप्त स्वास्थ्य स्वयंसेविकालाई बिदाइ तथा सम्मान गरिएको छ ।
काठमाडौँ महानगरपालिका, स्वास्थ्य विभागद्वारा आज आयोजित कार्यक्रममा अनिवार्य अवकाश हुनुभएका स्वयंसेविकाहरूलाई सम्मानसहित जनही रु दुई लाख प्रदान गरिएको छ । त्यसैगरी, दुई जनालाई मरणोपरान्त सम्मान पनि गरिएको छ । साथै ३२ वटै वडाबाट उत्कृष्ट स्वयंसेविकाहरूलाई जनही रु पाँच हजारसहित सम्मान गरिएको छ । हाल कामपामा चार सय ५३ जना स्वास्थ्य स्वयंसेविकाहरूले काम गरिरहेका छन् ।
सो अवसरमा महानगरका उपप्रमुख सुनिता डङ्गोलले स्वास्थ्य स्वयंसेविकाको सेवा र सुविधा थप्ने विषयमा क्रमिक रूपमा काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविका नेपालको स्वास्थ्य प्रणाली सुधारमा स्वास्थ्य स्वयंसेविकाहरूले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँहरूलाई छिट्टै नै स्वास्थ्य बीमामा पनि आबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “अवकाशप्राप्त स्वास्थ्य स्वयंसेविकाको ठाउँमा अरु स्वास्थ्य स्वयंसेविका थप्ने विषयमा हामीले काम गरिरहेका छौँ । थप्नका लागि कार्यविधिमा काम गरिरहेका छौँ । चिकित्सक, अस्पताल पुग्न नसकेको ठाउँमा पनि स्वास्थ्य स्वयंसेविका पुगेका छन् । अहरोत्र खटेका छन् । महामारी, प्रकोपका बेला पनि रातदिन नभनी काम गरिरहेका छन् । उहाँहरूको योगदानको कदर हामीले गर्नेपर्छ ।”
नेपाल स्वास्थ्यसेवी सङ्घको केन्द्रीय अध्यक्ष गीता थिङले स्वास्थ्य स्वयंसेविकाहरूको सेवा सुविधामा समयअनुसार बढोत्तरी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी भोको पेटले जहिल्यै स्वयंसेवी रूपले काम गर्न सक्दैनौँ । हाम्रो कामको मूल्याङ्कन हुनुपर्छ । भत्ता बढाइनुपर्छ । स्वयंसेविकाले पाउने सुविधा अपूरो छ ।”