मंसिर १९, २०८२ शुक्रबार

कैलाली, १९ मङ्सिरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न सञ्चारमाध्यम तथा सञ्चारकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

    नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको ‘प्रेस युनियनसँग मुख्यमन्त्री कार्यक्रम’मा मुख्यमन्त्री शाहले जनतालाई सुसूचित गराउन, एकतामा बाध्न सञ्चारमाध्यमको योगदान रहेको धारणा राख्नुभयो । “जनतालाई स्वतन्त्र बनाउन, अधिकार सम्पन्न बनाउन यो क्षेत्रको ठूलो भूमिका छ”, उहाँले भन्नुभयो, “यस अर्थमा हामीले समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीको सम्मान गर्नुपर्छ ।”

    जुनसुकै राजनीतिक आस्था, सैद्धान्तिक विचार, सिद्धान्त अवलम्बन गरे पनि लोकतन्त्रलाई स्थापित गराउँदै लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन र विकास गर्न गर्ने सञ्चारमाध्यमको महत्त्वपूर्ण योगदान रहेको मुख्यमन्त्री शाहले उल्लेख गर्नुभयो ।

    केही दिनअघि मात्र सुदूरपश्चिमका सातै पहाडी जिल्लाको स्थलगत अवलोकनपछि प्रदेश राजधानी फर्कनुभएका मुख्यमन्त्री शाहले पहाडको जनजीवन, दैनिकी, समस्यालगायत त्यहाँका नागरिकको वास्तविक अवस्था बुझ्न भ्रमण उपलब्धिमूलक रहेको धारणा राख्नुभयो । उहाँले दुर्गम क्षेत्रका चुनौती, विकासको आवश्यकता र जनताको अपेक्षा नजिकबाट अनुभव गर्न गाउँगाउँ पुगेको जानकारी दिनुभयो । 

    प्रदेश सरकारको लगानीमा अहिले पहाडी बस्तीसम्म सडक सञ्जाल पुगिसकेको मुख्यमन्त्री शाहले बताउनुभयो । प्रदेश संरचनाका बारेमा केही भ्रम सृजना भइरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको संरक्षणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुनु भएकाले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि कलम चलाउन आग्रह गर्नुभयो ।
---