काठमाडौँ, २० मङ्सिरः नेपाली राजदूतावास मस्कटले नेपाली कामदारलाई श्रमिक सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमको आयोजना गरी आवश्यक जानकारी दिएको छ ।
शुक्रबार सम्पन्न कार्यक्रममा नेपाली कामदारलाई दैनिक जीवनमा कृत्रिम बुद्धिमत्ताको प्रयोग, विदेशमा रहँदा शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुने तरिका, सामाजिक सुरक्षा कोष, ओमानमा गर्न हुने नहुने कार्य, श्रमिक सचेतना र वित्तीय साक्षरताजस्ता विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रममा कामदारलाई सुरक्षित र उत्पादनशील जीवनशैलीका लागि जानकारी दिइएको थियो । सो अवसरमा राहदानी तथा कन्सुलर सेवा सम्बन्धी शिविर सञ्चालन गरिएको थियो । बिदा लिन नसक्ने वा टाढाबाट आउने व्यक्तिलाई लक्षित गरिएको कार्यक्रममा स्थानीय अल सामा अस्पतालको चिकित्सक टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेको थियो । सेवाग्राहीले विदाको दिन यस्तो बृहत सेवा (मुलुक) कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गरेका थिए ।
राजदूत डोरनाथ अर्यालले ओमानस्थित नेपाली सङ्घ संस्थाका प्रतिनिधिको उपस्थितिमा विकास कूटनीतिसम्बन्धी स्थायी समितिको ११औँ बैठक सञ्चालन गरिएको जानकारी दिनुभएको थियो । बैठकमा राजदूतावासको भूमिका, नीतिगत सुधार र नेपाली कामदारको उद्दार एवं कल्याणमा सरोकारवालाको पहल, तथा पर्यटन, लगानी, व्यापार र रोजगार प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउने विषय केन्द्रीत रहेको थियो ।
गैर आवासीय नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्काले सम्बन्धित नीति पुनरावलोकन गर्न सुझावसहितको पत्र हस्तान्तरण गर्नुभएको थियो ।