भोजपुर, २० मङ्सिरः जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।
स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पु¥याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु शिविरको मुख्य लक्ष्य रहेको सेनाले जनाएको छ । शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सिद्धकाली फार्मेसी, जिल्ला आयुर्वेदिक अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थाको समन्वय र सहकार्य रहेको छ ।
शिविरमा कान, नाक, घाँटी, आँखासमेतका विभिन्न रोगका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका छन् । त्यस्तै बालरोग, दन्तरोग, स्त्रीरोग, सामान्य रोगको जाँच तथा आवश्यक औषधिसमेत निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।
स्थानीय बासिन्दाले दैनिक व्यस्तता र आर्थिक कारणले सदरमुकाम पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै सेनाले गाउँमै सेवा पुर्याउनु प्रशंसनीय रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । शिविर टेम्केमैयुङ–७ कोटस्थित जनोदय माध्यमिक विद्यालयको सञ्चालन गरिएको हो । नेपाली सेनाले ग्रामीण क्षेत्रमा नियमित रूपमा यस्ता सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।