मंसिर २०, २०८२ शनिबार

जुम्ला, २० मङ्सिरः कनकासन्दुरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण गरिएको छ । 

    प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सुविधायुक्त पक्की भवन निर्माण भई सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । उक्त वडाका स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण भएको हो । 

    विसं २०६८ मा स्थापना भएको प्रहरीचौकीमा लामो समयपछि पक्की कार्यालयबाट सेवा प्रवाह दिन थालिएको छ । कनकासुन्दरी क्षेत्र तथा रारा जाने पर्यटकको शान्तिसुरक्षा तथा ट्राफिक व्यवस्थापनको काम उक्त प्रहरीचौकीले गर्दै आएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताउनुभयो ।

    कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले प्रहरीको आन्तरिक स्रोतअन्तर्गत रु चार करोडको लागतमा सुविधायुक्त भवन निर्माण गरिएको बताउनुभयो । 

    गाउँपालिकाबाट आवश्यक सहयोग सधैँ गरिने अध्यक्ष दामोदर आचार्यको भनाइ छ । जिल्लाका आठवटै स्थानीय तहमा प्रहरीचौकी १३, अस्थायी प्रहरीचौकी छ, एक इलाका प्रशासन, जिल्ला ट्राफिक कार्यालय, कारागार, विमानस्थललगायत गरी २९ प्रहरी युनिट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।