मंसिर २०, २०८२ शनिबार

सिरहा, २० मङ्सिरः क्रिकेटको प्रवर्द्धन तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ लहान नगरपालिका–४ यज्ञभूमि क्रिकेट खेल मैदानमा आजदेखि ‘टी–२० प्याब्सन इन्टरस्कुल क्रिकेट लिग’ सुरु भएको छ । प्रतियोगिताको आयोजक तथा ‘टाइटल स्पोन्सर’ प्याब्सन सिरहा रहेको छ ।

    उद्घाटन खेलमा अपोलो ओम सेकेन्डरी स्कुल र जिबी शो एलिट स्कुलबीच पहिलो खेल भएको आयोजकले जनाएको छ । यस वर्षको लिगमा २८ वटा निजी विद्यालयको सहभागिता रहेको प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले जानकारी दिनुभयो ।

    उहाँले मधेस क्रिकेट प्रतिभाले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यस प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेका खेलाडीहरूको क्षमता उजागर गर्न महत्त्पूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ क्षमता भएर पनि ओझेलमा परेका खेलाडीहरूलाई यो मञ्चले आफ्नो खेल प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।”

    लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरले खेलकुद क्षेत्रको विकास र युवा विद्यार्थीको क्षमता पहिचान गर्न यस्ता प्रतियोगिताहरू अत्यन्त उपयोगी रहेका बताउनुभयो । विद्यालयस्तरमा यस्ता गतिविधि हुनु सकारात्मक पक्ष भएको भन्दै उहाँले आयोजकको प्रशंसा गर्नुभयो ।

    लहान क्रिकेट क्लबसहित सिराहा जिल्ला क्रिकेट सङ्घ, मधेस प्रदेश क्रिकेट सङ्घ र क्रिकेट एसोसिएसन अफ नेपालसँग सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । साथै, प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि रहेको छ ।

    यसैबीच, लहान–४ यज्ञभूमि मैदानमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा व्यवस्थित क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया पनि अघि बढेको छ । त्यसका लागि मन्त्रालयबाट रु तीन करोड र लहान नगरपालिकाले रु दुई करोड बजेट व्यवस्था गरिसकेको लहान क्रिकेट क्लबका अध्यक्ष ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार रङ्गशालाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम भइरहेको छ ।