लुम्बिनी २६, मङ्सिर : लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्स्टिच्युट स्थापना भएको छ । चीनको नानकाई विश्वविद्यालय, मकाउ इन्टरनेशनल थिङ्कट्याङ्कको सहकार्यमा हिमालयन रिसर्च इन्स्टिच्युट स्थापना भएको हो ।
हिमालयन रिसर्च इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी त्रिपक्षीय सहकार्य सम्झौतामा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्य र मकाउ इन्टरनेशनल थिङ्कट्याङ्कका अध्यक्ष प्राध्यापक स्वी हाओले हस्ताक्षर गर्नुभयो ।
इन्स्टिच्युटमार्फत दुई देशबीचको सम्बन्ध, बौद्ध दर्शन, कला, संस्कृतिका विषयमा अध्ययन अनुसन्धान हुनेछ । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति बज्राचार्यले हिमाली बौद्ध परम्परा, पुरातत्वको अध्ययन, अनुसन्धान जरुरी रहेको भन्दै विश्वविद्यालयबाट त्यसका लागि इन्स्टिच्युट स्थापना गरिएको बताउनुभयो ।
नानकाई विश्वविद्यालय, स्कुल अफ फिलोसोफीका प्राध्यापक चाओ वनले दुई देशबीचमा रहेको हिमालय बौद्ध संस्कृति, कला साहित्यको अनुसन्धानले दुई देशको सम्बन्धलाई अझ सुमधुर पार्ने बताउनुभयो । उहाँले इन्स्टिच्युटमार्फत संयुक्तमा रूपमा अध्ययन, अनुसन्धान र प्रकाशन गरिने बताउनुभयो ।
मकाउ इन्टरनेसनल थिङ्कट्याङ्कका अध्यक्ष प्राध्यापक स्वी हाओले इन्स्टिच्युटमार्फत अनुसन्धान क्रियाकलाप गर्न विश्वविद्यालयसँग सहकार्य गर्न पाएको खुसी व्यक्त गर्नुभयो । उहाँले हिमालयन पेरिफेरिको अध्ययन, अनुसन्धानले चीन नेपाल सम्बन्धलाई अझ बलियो बनाउने र अध्येताहरूमा ज्ञान प्रवर्द्धन हुने बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राडा गितु गिरीले हिमालय बौद्ध संस्कृतिको अध्ययन, अनुसन्धानका लागि इन्स्टिच्युट स्थापना महत्त्वपूर्ण हुने बताउनुभयो । इतिहास कायम गरेका गुम्बा संस्कृतिको अध्ययनको खाँचो औँल्याउँदै अब विश्वविद्यालयले इन्स्टिच्युटमार्फत संयुक्त रूपमा अनुसन्धान र प्रकाशन गर्ने बताउनुभयो ।