मंसिर २६, २०८२ शुक्रबार

गण्डकी, २६ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकता सन्देशसभा गरिरहेको छ । पार्टी एकताको सन्देशलाई पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न जिल्ला तहमा एकता सन्देशसभा भइरहेको उक्त पार्टीको केन्द्रीय सदस्य ज्ञामनाथ गैरै ‘अनिल’ले जानकारी दिनुभयो । 

यही मङ्सिर १४ गते प्रदेश राजधानी पोखरामा प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरेको नेकपाले त्यसयता म्याग्दी, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ र पर्वतमा एकता सन्देशसभा सम्पन्न गरिसकेको छ । शनिबार बागलुङ र नवलपुरमा एकता सन्देशसभाको आयोजना हुने केन्द्रीय सदस्य गैरेले बताउनुभयो । मुस्ताङ र मनाङमा कार्यक्रम तय हुन बाँकी रहेको उहाँको भनाइ छ । प्रदेशस्तरीय एकता सन्देशसभा पोखरामा भइसकेकाले कास्कीको छुट्टै कार्यक्रम आयोजना नहुने भएको हो । 

पोखरामा भएको गण्डकी प्रदेशस्तरीय एकता सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत शीर्षस्थ नेताहरूले सम्बोधन गरेका थिए । जिल्लास्तरमा भएका एकता सन्देशसभामा पनि केन्द्रीयस्तरका नेताहरू सहभागी भइरहेका छन् । शनिबार बागलुङ सदरमुकाममा हुने एकता सन्देशसभालाई उक्त पार्टीका नेता पम्फा भुसाल, देवेन्द्र पौडेल, दिलकुमारी पन्तलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

एकता सन्देशसभामार्फत पार्टीका नीति र विचारलाई जनस्तरमा लैजाने र चुनावी वातावरण बनाउने काम नेकपाले गरिरहेको केन्द्रीय सदस्य गैरैले बताउनुभयो । “नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा जुटिसकेको छ, अहिले पार्टीको एकताको सन्देश देशव्यापी रूपमा प्रवाह भइरहेको छ, यसले पनि निर्वाचनको माहोल बनाउन मद्दत पुगेको छ”, उहाँले भन्नुभयो । यही मङ्सिर २९ गते पालिकास्तरमा एकता सन्देश सभा गरिने नेकपाले जनाएको छ ।