मंसिर २६, २०८२ शुक्रबार

म्याग्दी, २६ मङ्सिर : बेनीमा आज सम्पन्न ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । 

    जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदकसहित बेनी नगरपालिका विजयी भएको हो । आठ स्वर्ण, पाँच रजत र तीन कास्य पदक जितेको अन्नपूर्ण गाउँपालिका दोस्रो भएको समितिका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो । 

    गत वर्षको बिजेता रघुगङ्गा गाउँपालिका छ स्वर्ण, १२ रजत र १० कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । दुई दिनसम्म सञ्चालन र छ वटा स्थानीय तह सहभागी प्रतियोगिताको विजेताले रनिङ शिल्ड, ट्रफी र मेडलसहित नगद रु २० हजार प्राप्त गरेको छ । 

    दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार तथा विधागत रूपमा प्रथम हुने पालिका र उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको छ । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।  

    भलिबल, कबड्डी, एथलेटिक्स, कराते र तेक्वान्दो विधाका ४२ वटा खेलमा ४५० जना खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भाग लिनका लागि ९८ जना खेलाडी छनौट हुने भएका छन् । 

    स्थानीय तहबाट छनौट भएका खेलाडीमध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौटका लागि प्रदेश र सङ्घीय सरकारले बजेट विनियोजन नगरे पनि समितिले आफैँ स्रोत जुटाएर जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।