मंसिर २६, २०८२ शुक्रबार

काठमाडौँ, २६ मङ्सिरः सुर्तीजन्य पदार्थ नियन्त्रणमा जनचेतनामूलक अभियान जरुरी रहेकामा सरोकार भएका निकायले जोड दिएका छन् । 

    सुर्ती उद्योगसँग सम्बन्धित जोखिम, चुनौती र आगामी रणनीतिबारे केन्द्रित ‘सुर्ती उद्योगको जोखिमपूर्ण जालो उजागर र प्रतिरोध गर्दैः आगामी दिनका लागि रणनीतिक दिशानिर्देशन’ विषयक अन्तरक्रिया कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनले हुने हानीका बारेमा जनचेतना जगाउनु जरुरी रहेको सरोकार भएका निकायले जोड दिएका हुन् ।

    एक्सन नेपालले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीति, नियम र कानुन बने पनि कार्यान्वयनको गति भने कमजोर रहेको बताउनुभयो ।

    “भावी पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउन अब गम्भीर रूपमा काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “उपभोक्ताले प्रयोग नै नगर्ने वातावरण बनाउन सक्यौँ भने उद्योग स्वयं कमजोर भएर बन्द हुने अवस्था आउँछ । जनचेतना, अभिप्रेरणा र व्यवहार परिवर्तनका अभियानलाई अझै सुदृढ गर्नुपर्छ ।”

    डा थपलियाले सुर्तीजन्य पदार्थका कारण नसर्ने रोगको जोखिम अत्यधिक बढ्दै गएको जनाउँदै यसको उपचारमा सरकारले ठूलो खर्च गर्नुपरिरहेको उल्लेख गर्नुभयो । उहाँले निकट भविष्यमा सुर्ती त्याग्न प्रोत्साहन गर्ने नयाँ राष्ट्रिय अभियान सुरु गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

    ‘टोबाको कन्ट्रोल एसिया प्यासिफिक–भाइटल स्ट्रेटेजी’का निर्देशक डा तारासिंह बमले नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थका कारण ज्यान जानेको सङ्ख्या बढ्दो अवस्थामा रहेको जानकारी दिनुभयो । “सन् २०२३ मा मात्र ३९ हजार २०० जनाको मृत्यु सुर्तीजन्य कारणले भयो”, उहाँले भन्नुभयो, “कर वृद्धि नै सुर्ती नियन्त्रणको सबैभन्दा प्रभावकारी रणनीति हो । ोससँगै ‘प्लेन प्याकेजिङ’ जस्ता कदम आवश्यक छन् ।”

    डा बमका अनुसार सुर्ती नियन्त्रणका क्षेत्रमा जनचेतना, बजेट र सरकारी तत्परताको अभाव अझै चुनौती बनेको छ । उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय बलियो नहुँदा प्रभावकारी नियन्त्रण सम्भव नदेखिएको उल्लेख गर्नुभयो ।