मंसिर २८, २०८२ आइतबार

पर्वत, २८ मङ्सिर: जिल्लाको कुश्मानगरपालिका–१२ ठुलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ ।

कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजना र सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा चार सय ५० जनाभन्दा बढीले परीक्षण गराएका हुन् । परीक्षण गरिएकामध्ये पाँच जनामा जटिल समस्या देखिएकाले शल्यक्रियाका लागि काठमाडौँ रेफर गरिएको कुश्मा नगरपालिका–१२ वडाध्यक्ष झलक रिमालले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण मुटुसम्बन्धी समस्या बल्झाएर बसेका ग्रामीण नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको शिविरमा कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमकी जिल्ला स्याङ्जाका बिरामीसमेत सहभागी भएका थिए ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा डा सुमन अधिकारी, डा सुतप यादव, बोधराज गौतमलगायतको टोलीले उपचार गरेको थियो । बिरामीलाई मुटुरोगसम्बन्धी परामर्श र परीक्षण, निःशुल्क इसिजी, इको कार्डियोग्राफी र औषधिसमेत वितरण गरिएको थियो ।

लाखौँ रुपैयाँ खर्च गरेर उपचार गर्नुपर्ने बिरामीले निःशुल्क सेवा पाउँदा ठूलो राहत मिलेको स्थानीय रमेश पौडेलले बताउनुभयो । शिविरमा विशेषगरी विपन्न, दलित तथा वृद्धवृद्धा लाभान्वित भएका उहाँले बताउनुभयो ।