गण्डकी, २८ मङ्सिर: नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । शनिबार बागलुङ सदरमुकाममा आयोजित एकता सन्देश सभामा बोल्दै नेताहरूले आगामी फागुन २१ गतेलाई निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन हुन नसके वर्तमान सरकारप्रति जनविश्वास घट्ने बताएका हुन् ।
नेकपा नेतृ एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारको एउटै मात्र ‘म्याण्डेट’ चुनाव गराउने रहेकाले त्यसमा केन्द्रीत हुन आग्रह गर्नुभयो । “फागुन २१ मै निर्वाचन हुनुपर्छ, सरकारले निष्पक्ष र भयरहित रूपमा निर्वाचनको वातावरण बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “जेनजी प्रदर्शनपछिको अवस्थामा मुलुकलाई नयाँ जनमतसहित अगाडि बढाउन निर्वाचनको विकल्प छैन । संविधान र लोकतन्त्रको रक्षाका लागि पनि निर्वाचन अपरिहार्य छ ।”
अधिकांश पार्टीले निर्वाचनमा जाने निर्णय गरेकाले विस्तारै निर्वाचनको वातावरण बन्दै गएको भन्दै नेतृ भुसालले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्यमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले ५० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताउनुभयो
नेकपा नेता एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले निर्वाचनपछि बन्ने सरकारले ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी निर्वाचनमा भाग लिन तयार रहेको र एक्लै प्रतिस्पर्धामा उत्रने धारणा राख्नुभयो ।
“घोषित निर्वाचनमा हामी भाग लिन्छौँ, निर्वाचन प्रक्रियामा जेनजी पुस्तालाई समेटेर लैजान्छौँ”, नेता पौडेलले भन्नुभयो, “हाम्रो पार्टी आत्माआलोचनासहित जनताका बीच आएको छ, देशव्यापी रूपमा सकारात्मक वातावरण बनेको छ ।”
नेतृ दिलकुमारी पन्तले समयमै चुनाव नभए थप समस्या आउने भन्दै निर्वाचन सफल पार्न नेकपाले सरकारलाई सहयोग गर्ने उल्लेख गर्नुभयो ।