पुस २, २०८२ बुधबार

काठमाडौँ, २ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो ।

    आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब ४०० मत खसेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।

    अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महाधिवेशनस्थलको भित्र र बाहिर विभिन्न उम्मेदवारका समर्थक र शुभेच्छकहरूले आ–आफ्ना शैलीमा प्रचारप्रसारलाई तीव्रता दिएका छन् । प्रदर्शनीमार्गको सडकमा नाचगान र सांस्कृतिक प्रस्तुतिसहित प्रचारप्रसार गरिएको छ । सोही कारण प्रदर्शनीमार्गको सवारी आवागमन प्रभावित भएको छ । 

    एमाले महाधिवेशनको उद्घाटन गत मङ्सिर २७ गते भक्तपुरको सल्लाघारी चौरमा भएको थियो भने मङ्सिर २८ गतेदेखि भृकुटीमण्डपमा बन्दसत्र र चुनावी कार्यक्रम सुरु भएको हो ।