काठमडौँ, ३ पुसः राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा नरेश सुवेदी नियुक्त हुनुभएको छ । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था बमोजिम बोर्डले उहाँलाई आज सदस्य सचिव पदमा नियुक्त गरेको हो ।
विगत २५ वर्षदेखि कोषको सेवामा निरन्तर कार्यरत डा सुवेदी यसअघि कोषको वरिष्ठ निर्देशक पदको जिम्मेवारीमा हुनुहन्थ्यो । पदीय जिम्मेवारीका क्रममा डा सुवेदीले नेपालको प्रकृति संरक्षण र जैविक विविधताको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएको छ । उहाँकै पहल र सक्रियतामा नेपाल सरकारले ललितपुरस्थित सदर चिडियाखानाको व्यवस्थापन आगामी ३० वर्षका लागि पुनः राष्ट्रिय प्रकृति संरक्षण कोषलाई नै जिम्मा दिने निर्णय गरेको थियो । यसका साथै, उहाँको नेतृत्वदायी क्षमता र अन्तरराष्ट्रिय समन्वयका कारण विभिन्न दातृ निकायबाट संरक्षण केन्द्रित दुई सय भन्दाबढी परियोजनाहरू कोषमा भित्रिएका छन् ।
यसैगरी प्राज्ञिक र अनुसन्धानको क्षेत्रमासमेत डा सुवेदीको उपस्थिति प्रभावशाली रहेको कोषले जनाएको छ । उहाँका हालसम्म करिब दुई सय भन्दाबढी उच्चस्तरीय अनुसन्धानमूलक कृतिहरू प्रकाशित भइसकेका छन् भने दई दर्जनभन्दा बढी शोधकर्तालाई विद्यावारीधि (पिएचडी) तहमा मार्गदर्शन गर्नुभएको छ ।
संरक्षण विज्ञान र व्यवस्थापनमा दख्खल राख्ने डा सुवेदीको कार्यकालमा प्रकृति संरक्षण, वन्यजन्तु व्यवस्थापन र जलवायु अनुकूलनका क्षेत्रमा थप नवीन र रणनीतिक उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।