काठमाडौँ, ५ पुसः बङ्गलादेशस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार साँझ स्थानीय राजशाहीमा ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्य’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमाई सम्बोधन गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबीचको द्विपक्षीय आर्थिक सहकार्यका विभिन्न क्षेत्रमा भएको स्थिर प्रगतिबारे जानकारी गराउनुभएको थियो ।
उहाँले ऊर्जा व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा हासिल भएका उपलब्धि उल्लेख गर्दै यी क्षेत्रमा सहकार्य थप विस्तार हुँदै गएको बताउनुभयो ।
दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन व्यवसायिक समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राजदूत भण्डारीले सहभागीलाई आपसीहितका क्षेत्रमा नेपाली व्यवसायिक साझेदारसँग सहकार्य अझ गहिरो बनाउन आह्वान गर्नुभयो ।
सो अवसरमा दूतावासकी प्रथम सचिव योजना बाम्जनले नेपाल–बङ्गलादेश आर्थिक सहकार्यका प्रमुख क्षेत्रबारे विस्तृत प्रस्तुति दिनुभएको नेपाली दूतावास बङ्गलादेशले जनाएको छ ।
उहाँले व्यापार, लगानी, सम्पर्क सञ्जाल, शिक्षा तथा जनस्तरको सम्पर्कलगायतका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे जानकारी गराउनुभएको थियो ।
अन्तरक्रियात्मक सत्रमा सहभागीले उठाएका जिज्ञासा तथा चासोका बारेमा राजदूत भण्डारीले जानकारी गराउनुभएको थियो । कार्यक्रममा राजशाहीस्थित विभिन्न सरकारी निकाय तथा व्यवसायिक सङ्घ–संस्थाका प्रतिनिधिले शारणा राखेका थिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, प्रतिष्ठित व्यवसायी, ट्राभल तथा टुर उद्यमी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।