पुस ५, २०८२ शनिबार

महेन्द्रनगर (धनुषा), ५ पुसः नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन जनकपुरधाममा आजदेखि सुरु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज साहले सम्मेलनको उद्घाटन गर्नुभयो । नगरप्रमुख साहले युवाहरूको नेतृत्व विकास, सामाजिक सेवा र सकारात्मक परिवर्तनमा जेसिजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जनकपुर जेसिजले समाजमा चेतना फैलाउन र युवालाई जिम्मेवार नागरिक बनाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

यही पुस ७ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछीमा सञ्चालन हुने सम्मेलनमा जेसिजका १८६ शाखामा आबद्ध  पाँच हजारभन्दा प्रतिनिधिहरु सहभागी छन् ।

 सम्मेलनमा ओरेटरी कन्टेस्ट, थिम सेमिनार, राष्ट्रिय एसेम्बलीलगायत नेपाल जेसिजका विभिन्न नेतृत्व विकास, व्यक्तित्व विकास तथा सङ्गठनात्मक गतिविधिहरू सञ्चालन हुने निर्देशक सुधिर पजियारले बताउनुभयो । सम्मेलनले जनकपुरको पर्यटन, होटल व्यवसाय तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको जनकपुर जेसिजका पूर्वअध्यक्ष रामकिशोर साहको भनाइ छ ।

 साथै, युवा नेतृत्व विकास र राष्ट्रियस्तरको सञ्जाल विस्तारमा सम्मेलन महत्वपूर्ण हुने बताइएको छ । सन् १९७७ मा अध्यक्ष लक्ष्मीबहादुर निराला र प्रबन्ध निर्देशक सीताराम सिकारियाको नेतृत्वमा पहिलोपटक यहाँ महाधिवेशन आयोजना गरिएको थियो । त्यसपछि सन् १९९३ मा अध्यक्ष शम्भु साह, सन् २००३ मा सन्तोष साह र सन् २०१८ मा जितेन्द्र महासेठको नेतृत्वमा महाधिवेशन जनकपुरधाममै सम्पन्न भएको थियो ।

महाधिवेशनमार्फत सङ्गठनको आगामी कार्यदिशा, नेतृत्व चयन तथा सामाजिक गतिविधिहरूका विषयमा छलफल हुने जनाइएको छ ।