पुस ६, २०८२ आइतबार

काठमाडौँ, ६ पुसः सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर  सङ्कलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । 

    गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा छ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्न थालिएको हो । 
    
    सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ । काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलोमात्रामा तैरिने फोहर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ । 

    ट्रास बेरियरबाट सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ । नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहर वस्तुलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफँै तलमाथि हुने ढङ्गले रबरको कन्भेयर बेल्ट र तैरिने भागसहितको संरचना जडान हुनेछन् ।