पुस ६, २०८२ आइतबार

काठमाडौँ, ६ पुसः राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टोली तयारीका क्रममा विशेष प्रशिक्षण गरिएको छ । खेलाडी तथा प्रशिक्षकका लागि आज यहाँ तीन विषयको कक्षा सञ्चालन गरिएको छ ।

सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा रहेको ओडिटोरियम हलमा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोट्र्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषणसम्बन्धी जानकारी दिइएको थियो ।

डा ज्ञानेन्द्रविक्रम शाहले एन्टी डोपिङ, डा भद्र हमालले स्पोट्र्स इन्जुरी एन्ड प्रिभेन्सी र सृष्टि श्रेष्ठले खेल पोषणसम्बन्धी कक्षा सञ्चालन गर्नुभएको थियो । 
जापानको आइची–नागोयामा हुने आसन्न २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसाथ राखेपले पारा तेक्वान्दोसहित विभिन्न ११ खेलको विशेष प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

     प्रशिक्षणमा १२० खेलाडी तथा २० प्रशिक्षक समावेश रहेका राष्ट्रिय टोली तयारीका लागि गठित समितिका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।