पुस ६, २०८२ आइतबार

चितवन, ६ पुसः मर्यादित र व्यावसायिक पत्रकारिताका लागि नेपाली आमसञ्चार जगत्मा थप  जवाफदेहिता आवश्यक रहेको सरोकार भएकाहरूले बताएका छन् । 

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घ चितवनले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा वक्ताहरूले जवाफदेहिता पत्रकारिताको अभिन्न अङ्ग भएको धारणा राख्नुभयो । 
काउन्सिलका अध्यक्ष डा कुमार शर्मा आचार्यले पत्रकारिता क्षेत्रमा सुधार आवश्यक रहेको भन्दै जवाफदेहिता बढाउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले  भन्नुभयो “पत्रकारिता क्षेत्र निष्पक्ष र जवाफदेही हुनुपर्छ । आफ्नो मर्यादा र व्यावसायिकतामा दत्तचित्त भएर काम काम गर्न सकेमा समाजका सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।”

अध्यक्ष डा आचार्यले पछिल्लो समय पत्रकारितामा गर्दा हुबहु (कपिपेष्ट) को समस्या रहेको भन्दै पत्रकार सबै सचेत भएमा समस्या समाधान हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “आफ्नो समाचार कपिपेष्ट भएमा प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा दायर गर्नुस्, तपाईँहरूको अधिकार सुरक्षित हुन्छ । क्षतिपूर्ति भराउने काम हुन्छ । अरु कसैले लेखेको समाचार आफूले पनि चोरी गर्नुहुँदैन भन्नेमा सचेत रहनुस् ।” 
 
कार्यक्रममा काउन्सिलका सदस्यद्वय नकुल अर्याल र सन्तराम बिडारीले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान आफैँबाट सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पत्रकारहरूले आफ्नो गल्ती सच्याउन तयार नहुँदा समस्या थपिँदै गएका र अब अरुलाई दोष दिएर सुधार नहुने उहाँहरूको भनाइ थियो ।
 
काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले पत्रकारले गर्न हुने र नहुने कामका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले हरेक पत्रकारले आचारसंहिता पालनामा सधैँ सचेत रहनुपर्ने बताउनुभयो । 

त्यस अवसरमा पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, पूर्वअध्यक्ष कृष्ण गिरी, कृष्ण भण्डारी र अध्यक्ष वसन्त पराजुली, नेपाल बार एसोसिएसन चितवन शाखाकी अध्यक्ष फूलमाया रानाभाटलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।