महेन्द्रनगर (धनुषा), ६ पुसः मधेस प्रदेशसभाको तेस्रो सभामुखको रुपमा रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले आज जनकपुरधाममा एक समारोहबीच यादवलाई सभामुख पदको शपथ गराउनुभएको हो । उहाँले मधेसको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिनुभएको हो । मैथिली भाषामा शपथ ग्रहण गरेपछि प्रदेशसभामा उपस्थित सांसद, कर्मचारी तथा शुभेच्छुकहरूले ताली बजाउँदै उहाँको स्वागत गर्नुभएको थियो ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री कृष्णप्रसाद यादव, उपसभामुख बबिता राउत इसर, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, विभिन्न दलका नेताहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । शिक्षक र पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका यादवले यसअघि जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीमा रहेर प्रदेशसभामा सक्रिय भूमिका खेल्दै आउनुभएको छ ।