काठमाडौँ, ६ पुसः नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिदाइ भेटवार्ता भएको छ ।
चिनियाँ दूतावासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबीच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको हो । पूर्वप्रधानमन्त्री खनालले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूत सोङलाई बधाई दिँदै दुई मुलुकबीच सहयोग तथा सम्बन्ध विस्तार गर्न उहाँले निर्वाह गर्नुभएको भूमिका एवं योगदानको सराहना गर्नुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
सो अवसरमा राजदूत सोङले आगामी दिनमा दुवै मुलुकको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदूत सोङ आफ्नो कार्यकाल पूरा गरी चीन फिर्ता हुन लाग्नुभएको छ ।