जकार्ता, ७ पुस: सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा यो दुर्घटना भएको हो ।
स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार उक्त बस निकै उच्च गतिमा यात्रारत अवस्थामा मोडमा पुगेको थियो । मोड पार गर्ने क्रममा बस सडकको अवरोधसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको उहाँले विज्ञप्तिमार्फत बताउनुभयो ।
“हामीले घटनास्थलबाट ३४ जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका छौँ”, बुडियोनोले जानकारी भन्नुभयो । उहाँका अनुसार १५ जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने गम्भीर घाइते एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परेका धेरै घाइतेलाई उपचारका लागि सेमरङ सहरका विभिन्न अस्पतालमा लगिएको उहाँले बताउनुभयो । उद्धार एजेन्सीले सार्वजनिक गरेको भिडियो फुटेजमा बस छेउमा पल्टिएको अवस्थामा देखिन्छ, जहाँ उद्धारकर्मीहरूले पीडितहरूलाई बडी ब्यागमा राख्दै स्थानान्तरण गरिरहेका दृश्यहरू देख्न सकिन्छ ।
इन्डोनेसियामा यस प्रकारका यातायात दुर्घटनाहरू प्रायः हुने गरेका छन् । दक्षिणपूर्व एसियाको विशाल द्वीपसमूह राष्ट्रमा धेरै सवारी साधनहरू पुराना हुनु, मर्मतसम्भारको कमी रहनु तथा सडक नियमहरूको नियमित उल्लङ्घन हुनु दुर्घटनाका प्रमुख कारण मानिन्छन् ।
यसअघि सन् २०२४ मा ईद अल–फितर पर्वका अवसरमा मानिसहरूको आवतजावत बढेका बेला व्यस्त राजमार्गमा एउटा बस र कार आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१९ मा सुमात्राको पश्चिमी भागमा एउटा बस खोलामा खस्दा कम्तीमा ३५ जनाले ज्यान गुमाएका थिए ।