दशैँ नजिकिँदा रोजगारीका लागि गाउँघर छाडेर देश–विदेशका पुगेकाहरू दसैँ मनाउनका लागि घर फर्कने गर्दछन् । तर सुदूरपश्चिममा दसैँको मुखमै पनि रोजगारीका लागि भारत जाने नेपालीको लर्को लागेको छ ।
कैलालीको त्रिनगर नाकास्थित हेल्प डेस्क इन्चार्ज दिनेश ठकुल्लाका अनुसार भदौ ३० गते मात्र २८५ जना नेपाली त्रिनगर भन्सार नाका हुँदै भारत गएका छन् । यस्तै भदौ ३१ गते २२७ जना, असोज १ गते २२५ जना, २ गते १८६ जना, ३ गते ३२९ जना, ४ गते २१४ जना, ५ गते २३३ जना र ६ गते २५६ जना भारततर्फ गएका छन् ।
यस्तै दसैँ नजिकिएसँगै भारतबाट रोजगारी गरी घर फर्कने नेपालीको सङ्ख्या पनि बढ्न थालेको छ । त्रिनगर भन्सार नाका हुँदै घर फर्कने नेपालीको सङ्ख्या उल्लेख्य छ ।
हेल्प डेस्क इन्चार्ज ठकुल्लाका अनुसार सो नाकाबाट भदौ ३० गते ४७२ पुरुष, १९३ महिला र ८१ बालबालिका नेपाल आएका छन् । यस्तै, ३१ गते ७१२ जना, असोज १ गते ६८८ जना, २ गते ५२३ जना, ३ गते ४११ जना, ४ गते ४९८ जना, ५ मा ४६७ जना र ६ गते ३६० जना नेपाल फर्केका छन् ।