पुस ८, २०८२ मंगलबार

म्याग्दी (बेनी), ८ पुसः म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । 

    काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गरेर सञ्चालन गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । 

    गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको पालिकाको स्वास्थ्य शाखाबाट व्यवस्थापन हुनेगरी पालिकाका आठवटै वडाका नागरिकलाई स्वास्थ्य उपचारमा एम्बुलेन्स सेवा उपलब्ध हुने उहाँले बताउनुभयो । एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकाले एक जना चालक र एक जना नर्ससमेत व्यवस्थापन गरेको छ । 

    आपतकालीन अवस्थाका बिरामी, घाइते, सुत्केरी महिला तथा अतिआवश्यक स्वास्थ्य सेवाका लागि गाउँपालिकाको सबै वडादेखि सदरमुकाम बेनी र पोखरासम्म बिरामीलाई पु¥याउन र घरमा ल्याउनका लागि एम्बुलेन्सलाई प्रयोग गरिने छ । एम्बुलेन्समा अनिवार्य रुपमा एक जना नर्स र अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको उपलब्धता हुने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । 

    एम्बुलेन्स सेवा लिने नागरिकले स्वास्थ्य संस्थामा जाने र आउने एकमुष्ठ शुल्कमा गाउँपालिकाले निर्धारण गरेको यातायात भाडादरमा ३३ प्रतिशत रकम छुट पाउने गाउँपालिकाले जनाएको छ ।