कञ्चनपुर, ८ पुस ः शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बन्तरिया शिविरका बाढीपीडित परिवार समस्यामा परेका छन् ।
हिउँदको सिरेटो सिधै छिर्ने कच्ची झुपडीमा बस्दै आएका यी परिवारलाई अहिले ओढ्ने–ओछ्याउने न्यानो कपडाको चरम अभाव भएको छ । कठ्याङ्ग्रिँदो चिसोबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने चिन्ताले बाढीपीडितलाई पिरोल्न थालेको छ ।
डेढ दशकदेखि वनक्षेत्रमा अस्थायी बसोबास गर्दै आएका १९ परिवारका लागि यो हिउँद निकै कष्टकर बनेको ७० वर्षीय वासुदेव रानाले बताउनुभयो । “अत्यधिक चिसो हुन थालेपछि रातिका बेला निद्रासमेत पर्न छाडेको छ”, उहाँले भन्नुभयो, “मुटु कमाउने चिसो छ, न हामीसँग चिसो छेक्ने न्यानो लुगा छ, न त राम्रो ओछ्यान नै ।”
झुपडीमा बालबालिका र बूढापाकालाई चिसोबाट जोगाउन आगो बालेर रात काट्नुपर्ने बाध्यता रहेको उहाँले दुखेसो पोख्नुभयो । शिविरमा बस्ने सबै परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । मजदुरीबाट आएको न्यून रकमले साँझबिहानको छाक टार्नै मुस्किल हुने भएकाले न्यानो कपडाको जोहो गर्न नसकिएको महादेव रानाले बताउनुभयो । दातृ निकायलाई न्यानो कपडाको व्यवस्था गरिदिन आग्रह गरे पनि हालसम्म कुनै पनि निकायबाट सहयोग नपाउँदा आगो तापेर चिसो कटाउनुपरेको उहाँले उल्लेख गर्नुभयो ।
शिविरका राजकुमार राना भन्नुहुन्छ, “गणतन्त्र आएपछि कोही भोको र नाङ्गो हुनु पर्दैन भन्ने नारा सुने पनि हाम्रो हकमा त्यो नारा केवल नारामा मात्र सीमित भएको छ ।” बाढीबाट विस्थापित भएर झण्डै डेढ दशकदेखि वन छेउको शिविरमा कष्टपूर्ण जीवन बिताउँदासमेत कुनै पनि निकायले सोधखोज नगरेको उहाँको गुनासो छ ।
विसं २०६४ मा वनहरा नदीमा आएको भीषण बाढीले घरजग्गा सबै बगाएपछि यी परिवार सुकुम्बासी बनेका हुन् । साविक देखतभूली गाविसमा रहेको घरजग्गा नदीले बगाएर बगरमा परिणत गरेपछि उनीहरू शिविरमा बस्न बाध्य भएका हुन् । आफ्नो स्वामित्वमा रहेको जग्गा बगर बनेपछि मालिकबाट मजदुर बनेका यी परिवार यतिबेला प्रकृति र राज्य दुवैको उपेक्षामा परेका छन् ।
–––