बनियानी (झापा), ८ पुसः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको बिर्तामोडमा यही पुुस १२ गते जनजागरणसभा गर्नेभएको छ ।
बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी राप्रपाले जनजागरणसभा बारेमा जानकारी दिएको हो । राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको धारणा, दृष्टिकोण र मुलुकको पछिल्लो अवस्थाबारे आमनागरिकलाई जानकारी गराउन जनजागरण सभा गर्न लागिएको जानकारी दिनुभयो ।
सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । सभामा झापाका १५ स्थानीय तहका १३१ वटै वडाका सहभागी हुने जनाइएको छ ।
सभा सभ्य र मर्यादित तवरले सम्पन्न गरिने अध्यक्ष ओझाले बताउनुभयो । सभाका लागि विभिन्न उपसमिति गठन गर्नुका साथै जिल्ला प्रशासनबाट अनुमतिसमेत लिइएको पार्टीले जनाएको छ । सभाका लागि पूर्वबाट पार्टी नेतृ सविना बजगाईंको नेतृत्वमा, पश्चिमबाट पार्टीका प्रदेश अध्यक्ष राम थापा, उत्तरतर्फको केन्द्रीय प्रवक्ता भक्ति सिटौला र दक्षिणतर्फको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्नेले गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस्तै राप्रपा झापाले पार्टीको जिल्ला प्रवक्ता सूर्य खतिवडालाई जिम्मेवारी प्रदान गरेको छ । पार्टीको बैठकले खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा अध्यक्ष ओझाले बाउनुभयो ।
प्रवक्ताको जिम्मेवारी पाउनुभएका खतिवडाले पार्टीका गतिविधिलाई थप सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।