काठमाडौँ, ८ पुसः हिमालयन लिटरेचर फेस्टिभल र राइटर्स वर्कशपले नेपालमा पहिलो कविता फिल्म महोत्सव आयोजना गर्ने भएको छ । सो महोत्सव आगामी जेठ १५ देखि २२ गतेसम्म राजधानीमा आयोजना हुने जनाइएको छ ।
विश्वभरका चलचित्र निर्माता र निर्देशक, लेखक र कलाकारलाई सशक्त साहित्यिक वा काव्यिक आधार भएका चलचित्र महोत्सवमा पठाउन आयोजकले आह्वान गरेका छन् ।
छोटा कविता चलचित्र, साहित्यिक रूपान्तरण तथा रूपान्तरित पटकथा, कवि तथा लेखकमा आधारित जीवनी वा वृत्तचित्र, साहित्यिक वा काव्यिक परम्परामा आधारित चलचित्रलाई महोत्सवमा समावेश गरिने हिमालयन लिटरेचर फेस्टिभलका निर्देशक सृजना भण्डारीले जानकारी दिनुभयो ।
कविता, गद्य, सिनेमा, प्रदर्शन कला र दृश्य कलाबीचमा समन्वय गर्ने तथा अन्तरविधागत र प्रयोगात्मक कृतिलाई पनि विशेष रूपमा प्रोत्साहन गरिनेछ । आयरल्याण्डका फिल्म निर्देशक पिटर सेल्सबरी, हलिउडका सङ्गीतकार चाड क्यानन तथा बेलायतका निर्देशक स्टिफन बोकास सम्मिलित छनोट समितिले उत्कृष्ट फिल्मको चयन गर्नेछ ।
महोत्सवमा समावेश भएकामध्ये सर्वोत्कृष्ट घोषित फिल्मले पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।