पुस ८, २०८२ मंगलबार

टोकियो, ८ पुस  : जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका अधिकारीहरूले बताएका छन् । यसैबीच, उहाँको ९२औँ जन्मदिन मङ्गलबार शान्त वातावरणमा मनाइएको छ । यस वर्षको सुरुमा देखिएको स्वास्थ्य चिन्तापछि उहाँको अवस्था हाल नियन्त्रणमा रहेको इम्पेरियल हाउसहोल्ड एजेन्सीले जनाएको छ ।

    सम्राट नारुहितोका पिता अकिहितोलाई मे महिनामा मुटुको मांसपेशीमा पर्याप्त मात्रामा रगत प्रवाह नहुने समस्या देखिएको थियो । तर जुलाईदेखि नयाँ औषधि सुरु गरिएपछि उहाँको स्वास्थ्य अवस्था स्थिर रहँदै आएको एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उमेरका बाबजुद पनि उहाँ अझै सक्रिय जीवनशैलीमा रहनुभएको छ । विशेषगरी गोबी माछामाथिको वैज्ञानिक अनुसन्धानमा उहाँको रुचि कायमै रहेको छ । यस क्षेत्रमा उहाँले अहिलेसम्म १० नयाँ प्रजाति पहिचान गरिसक्नुभएको छ । एजेन्सीका अनुसार उहाँ हप्तामा दुई पटक दरबार परिसरभित्र रहेको जीवविज्ञान प्रयोगशालामा जानुहुन्छ ।

    सन् २०१९ मा गद्दी त्याग गरेपछि ‘सम्राट एमेरिटस’ को उपाधि धारण गर्नुभएका अकिहितोले आफ्नो जन्मदिन परिवारसँगै मनाउने र जापानी प्रधानमन्त्री साने तकाइचीसहितका विशिष्ट पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    जापानको युद्धकालीन इतिहासप्रति संवेदनशील दृष्टिकोण राख्नुभएका अकिहितोले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवको अवसरमा यस वर्ष बारम्बार युद्धका पीडित र कठिन समय भोगेका जीवित साक्षीहरूका लागि प्रार्थना गर्नुभएको थियो । उहाँले विगतका पीडालाई स्मरण गर्दै शान्तिको सन्देश दिनुभएको छ ।

    पूर्वसम्राट अकिहितो र महारानी एमेरिटा मिचिकोले ८० वर्षअघिको युद्धसँग सम्बन्धित चार प्रमुख मितिहरू—ओकिनावाको युद्धको अन्त्य, हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोट तथा जापानको आत्मसमर्पणको दिन—मा केहीबेर मौन धारण गर्नुभएको थियो । उहाँले आफ्ना पिता सम्राट हिरोहितोको नाममा लडिएको युद्धलाई कहिल्यै भुल्न नहुने धारणा पनि व्यक्त गर्नुभएको छ ।

    अगस्ट महिनामा अकिहितो र उहाँकी पत्नी मिचिको मध्य जापानको करुइजावा रिसोर्ट पुग्नुभएको थियो । यही स्थानमा युद्धका बेला उहाँ बालक अवस्थामै अस्थायी रूपमा बसाइँ सर्नु परेको थियो र पछि यहीँ दम्पतीबीच प्रेम सम्बन्ध सुरु भएको स्मरणीय इतिहास पनि जोडिएको छ ।