पुस ९, २०८२ बुधबार

लस एन्जलस, ९पुस  : क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण  आवासिय घरहरु प्रभावित हुदाँ सयौं मानिसहरु विस्थापीत भएको जनाइएको छ । भने  क्रिसमसको समयमा राज्यको धेरै भागमा बाढीका कारण र यातायात अवरुद्ध हुने खतरा रहेको अधिकारीहरूले बताएका छन् ।

 राष्ट्रिय मौसम सेवाले विज्ञप्ति जारी गर्दै आँदीले शुक्रबारसम्म क्यालिफोर्नियामा भारी वर्षा, हिमपात गराउने,  जानकारी गराउदै राज्यको उत्तरी, मध्य र दक्षिणी भागका बासिन्दाहरुलाई “अत्यधिक सावधानी अपनाउन चेतावनी दिएको छ  । 

क्रिसमसको छुट्टीमा बाहिर निस्कने योजनाहरू माथि पुनर्विचार गर्न आह्वान गर्दै राष्ट्रिय मौसम सेवाका मौसमविद् एरियल कोहेनले प्रकिकुल समयमा सुरक्षित स्थानमै बसेर क्रिसमस मनाउन आग्रह गर्नु भएको छ ।   

बुधवार देखि शुक्रबारसम्म विशेष गरी उच्च भूभाग र सडकहरू मार्फत चट्टान र माटोको ढलसँगै बाढीको सामना गर्नु पर्ने बताइएको छ । 

दक्षिणी क्यालिफोर्नियाका केहि भागहरुमा ३०.५ सेन्टिमिटर सम्म वर्षा हुन सक्ने अनुमान गरिएको कोहेनले बताउनु भएको छ । 

“जनवरीको जङ्गली आगोबाट प्रभावित क्षेत्रहरूसहित हालैका  प्रभावित क्षेत्रहरू माटो र भग्नावशेषको प्रवाहका लागि अत्यधिक संवेदनशील भएको एलए काउन्टीका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।

एलए कानून प्रवर्तनका अनुसार मङ्गलबार २०० भन्दा बढी प्रभावित घरहरू खाली गर्ने आदेश दिएको थियो । 

लस एन्जलस काउन्टी र राज्यका अन्य भागहरूमा मङ्गलबार देखि बाढीको निगरानी गरिएको थियो ।

क्यालिफोर्नियाको पूर्वी सिमानामा रहेको प्रमुख पर्वत शृङ्खला सिएरा नेभाडामा यस हप्ता एक फिट भन्दा बढी हिउँ परेको छ भने आँधी आउनु अघि नै पाँच फिटसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको थियो ।

आँधी राज्य भरि ८८ किलोमिटर प्रति घण्टा सम्मको हावाको वेगमा आउने पनि अपेक्षा गरिएको थियो ।

कमजोर माटो र तीव्र हावाको संयोजनले ठुलो सङ्ख्यामा रूख र बिजुलीका लाइनहरू झर्ने सम्भावना रहेको मौसम अधिकारीहरूले चेतावनी दिएका छन् ।