पुस ९, २०८२ बुधबार

राँझा (बाँके), ९ पुसः नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा सुविधासम्पन्न ‘सुशील कोराला स्मृति भवन’ निर्माण गरेको छ । कांग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरी उहाँकै नामबाट नामाकरण गरिएको हो ।

    कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलका अनुसार भवनको एउटा कोठालाई ‘सुशील कोइराला शयन कक्ष’ नाम दिइएको छ । स्व कोइरालाले नेपालगञ्जमा पार्टीको भवन निर्माण भयो भने त्यहीँ बसेर काम गर्ने इच्छा जाहेर गर्नुभएकाले उहाँको भावनाको उच्च सम्मान गर्दै शयन कक्ष निर्माण गरिएको उहाँले बताउनुभयो ।

    सभापति गौडेलले आफ्नो कार्यकालमा गरिएको बाचा र प्रतिबद्धता बमोजिम भवन निर्माण गरिएको स्मरण गराउनुभयो । उहाँले छिट्टै भवनको प्राङ्गणमा सुशील कोइरालाको अर्धकदको शालिक निर्माण गरिने जानकारी दिनुभयो । भवन निर्माण समितिका संयोजक एवं पार्टीका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीले भवन निर्माणका लागि हालसम्म रु एक करोड २० लाख ८३ हजार रकम खर्च भएको जानकारी दिनुभयो । 

    उहाँका अनुसार भवन निर्माणका लागि विभिन्न क्षेत्र तथा व्यक्तिबाट अहिलेसम्म नगद, भौतिक तथा जिन्सी सामग्रीसहित रु एक करोड २५ लाख ७० हजार सहयोग प्राप्त भएको छ । जेष्ठ नागरिक तथा अपाङ्गमैत्री उक्त भवनमा ‘लिप्ट’को व्यवस्था गरिएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।