पुस ९, २०८२ बुधबार

नयाँ दिल्ली, ९ पुस  : भारतको अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै तौल भएको उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस उपलब्धिलाई भारतको अन्तरिक्ष क्षेत्रमा ‘महत्त्वपूर्ण फड्को’ भएको बताउनुभएको छ ।

एलभीएम–३ एम–६ रकेटमार्फत अमेरिकामा निर्मित एएसटी स्पेसमोबाइल सञ्चार उपग्रहलाई पृथ्वीको कक्षमा सफलतापूर्वक स्थापित गरिएको हो । इसरोका अनुसार यो भारतीय भूमिबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो पेलोड हो, जसको तौल करिब ६ हजार १०० किलोग्राम रहेको छ ।

यो प्रक्षेपण भारतको कम लागतमा आधारित महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रमका लागि उल्लेखनीय उपलब्धि मानिएको छ । भारतले आगामी वर्षहरूमा मानवविहीन कक्षीय उडान तथा मानव अन्तरिक्ष यात्राको तयारी गरिरहेको छ ।
इसरोले भविष्यका अन्तरिक्ष मिसनहरूमा प्रयोग गरिने परिमार्जित रकेटमार्फत उक्त उपग्रह प्रक्षेपण गरिएको जनाएको छ । विश्वभर सञ्चार सेवाका लागि उन्नत उपग्रहको माग बढ्दै गएकाले भारत व्यावसायिक उपग्रह प्रक्षेपण बजारमा आफ्नो भूमिका विस्तार गर्ने प्रयासमा रहेको छ ।

प्रधानमन्त्री मोदीले यस उपलब्धिलाई ‘भारतको अन्तरिक्ष यात्रामा गर्व गर्न लायक कोसेढुङ्गा’ भन्दै यसले अन्तर्राष्ट्रिय व्यावसायिक प्रक्षेपण बजारमा भारतको उपस्थिति अझ मजबुत बनाएको बताउनुभयो ।

यसअघि इसरोले करिब चार हजार ४१० किलोग्राम तौलको सीएमएस–०३ सञ्चार उपग्रह प्रक्षेपण गरेको थियो । भारतले सन् २०२७ अघि मानवविहीन कक्षीय उडान र त्यसपछि पहिलो मानव अन्तरिक्ष उडान गर्ने योजना बनाएको छ । साथै, सन् २०४० सम्ममा चन्द्रमामा भारतीय अन्तरिक्षयात्री पठाउने लक्ष्यसमेत घोषणा गरिएको छ ।