पुस ९, २०८२ बुधबार

ढाका, ९ पुस  : बङ्गलादेशको प्रभावशाली राजनीतिक परिवारका उत्तराधिकारी तथा प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता तारिक रहमान १७ वर्षको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कने तयारीमा रहनुभएको छ । लामो समयदेखि लन्डनमा बसोबास गर्दै आउनुभएका उहाँ आगामी प्रमुख आमनिर्वाचनअघि ढाका आइपुग्ने तयारीमा हुनुहुन्छ ।

    ६० वर्षीय रहमानले सन् २००८ मा आफूविरुद्ध राजनीतिक रूपमा प्रेरित उत्पीडन भएको आरोप लगाउँदै बङ्गलादेश छोड्नुभएको थियो । बिएनपीका कार्यवाहक अध्यक्ष रहनुभएका उहाँले बिरामी आमाबाट पार्टीको नेतृत्व सम्हाल्ने अपेक्षा गरिएको छ । उहाँकी आमा, ८० वर्षीया पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको छ ।

    स्वास्थ्य समस्या र कारावासको कठिन समय बिताउनुभए पनि जियाले नोभेम्बरमा सन् २०२६ फेब्रुअरी १२ मा हुने आमनिर्वाचनमा प्रचार गर्ने घोषणा गर्नुभएको थियो । तर त्यसको केही समयपछि उहाँ अस्पताल भर्ना हुनुभएको छ र हाल सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।

    यो निर्वाचन पूर्वप्रधानमन्त्री शेख हसिनाको करिब १५ वर्ष लामो शासनपछि हुने पहिलो चुनाव हो । गत वर्षको जनआन्दोलनपछि शेख हसिनाको शासन अन्त्य भएको थियो । शेख हसिनासँग बिएनपीको लामो समयदेखि तीव्र राजनीतिक प्रतिस्पर्धा रहँदै आएको छ ।

    शेख हसिना सत्ताबाट बाहिरिएपछि रहमानमाथि लगाइएका केही गम्भीर अभियोगहरू खारेज गरिएका छन् । सन् २००४ मा शेख हसिनाको र्‍यालीमा भएको ग्रेनेड आक्रमणको षड्यन्त्रमा संलग्न रहेको आरोपमा उहाँलाई अनुपस्थितिमै आजीवन कारावासको सजाय सुनाइएको थियो, जसलाई उहाँले सधैँ अस्वीकार गर्दै आउनुभएको छ ।

    बिएनपीका महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरले डिसेम्बर २५ मा रहमान ‘ढाकाको भूमिमा हामीबीच आइपुग्ने’ बताउँदै त्यस दिनलाई पार्टीका लागि ऐतिहासिक र उत्साहजनक हुने उल्लेख गर्नुभएको छ ।

    राजनीतिमा प्रवेश गर्नु अघि ढाका विश्वविद्यालयमा अध्ययन गर्नुभएका रहमान युवावस्थामै बिएनपीमा सक्रिय हुनुभएको थियो । उहाँका पिता जियाउर रहमान पूर्वराष्ट्रपति तथा सेना प्रमुख हुनुहुन्थ्यो । उहाँको हत्या रहमान १५ वर्षको हुँदा भएको थियो । त्यसपछि उहाँ आफ्नी आमाको राजनीतिक छायामा हुर्कनुभएको थियो ।

    रहमानको राजनीतिक यात्रामा विवाद पनि जोडिएका छन् । उहाँमाथि भाई–भतिजावाद र भ्रष्टाचारको आरोप लाग्दै आएका छन्, जसलाई उहाँले सधैँ राजनीतिक प्रतिशोधको परिणाम भन्दै खारेज गर्नुभएको छ । सन् २००७ मा भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि हिरासतमा यातना दिइएको दाबीसमेत उहाँले गर्नुभएको थियो । उपचारका लागि लन्डन गएका उहाँ त्यसपछि लामो समय स्वदेश फर्कन सक्नुभएको थिएन ।

    बेलायतमा रहँदा उहाँले परिवारसँग शान्त जीवन बिताउनुभएको थियो । तर शेख हसिनाको शासन अन्त्यपछि उहाँ सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा देखिन थाल्नुभएको छ र बिएनपी समर्थकहरूका लागि आशा र एकताको केन्द्रको रूपमा उदाउनु भएको छ ।