पुस ९, २०८२ बुधबार

काठमाडौँ, ९ पुस : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) कोे १२४ औँ बोर्ड बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ । 

दशौँ राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल सङ्ख्या र खेलाडी कोटाका सम्वन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारीबारे प्रदेश खेलकुद र विभागीय टोलीहरूलाई पत्राचार गर्ने निर्णय भएको छ ।

यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आयव्यय पास गरेको छ । अन्तरराष्ट्रिय खेलकुद परिसर सातदोवाटोमा ‘जेनजी शहीद स्मृति पार्क निर्माण गर्ने, त्यहाँको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णाय गरेको छ ।

बैठकले सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ । बैठकमा परिषद्का उपाध्यक्ष धु्रव आर्चाय, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, सदस्य सचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति रहेको  थियो ।
---