काठमाडौँ, ९ पुस : सरकारको उच्चस्तरीय राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेको छ ।
समितिले आज दिउँसो रास्वपाको केन्द्रीय कार्यालय, वनस्थली पुगेर छलफल गरेको हो । छलफलमा संवाद समितिका संयोजक तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल तथा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको उपस्थिति थियो ।
रास्वपाका तर्फबाट उपसभापतिहरु डिपी अर्याल, डा स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रवक्ता मनिष झासहित केन्द्रीय सदस्यहरू सहभागी थिए ।
कानुनमन्त्री सिन्हाले आगामी फागनु २१ गतेको निर्वाचनका लागि सरकारकातर्फबाट भएका तयारीबारे रास्वपालाई अवगत गराइएको जानकारी दिनुभयो । रास्वपासँगको छलफलपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले रास्वपाबाट निर्वाचनबाहेक अन्य विकल्पबारे कुनै शङ्का नरहेको र सुरक्षा तथा समय व्यवस्थापनका विषयमा मात्र केही जिज्ञासा उठेको बताउनुभयो ।
उहाँले राजनीतिक दलहरूसँग कार्यालयमै पुगेर छलफल गर्न सरकारलाई प्राप्त म्यान्डेटअनुसार अघि बढेको उल्लेख गर्दै यसले निर्वाचनको वातावरण निर्माण भइरहेको राय व्यक्त गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले रास्वपाले निर्वाचनमा सहभागी हुने स्पष्ट सन्देश दिएको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले रास्वपाका सभापति रवि लामिछानेले पदाधिकारीमार्फत सरकारको निर्वाचन तयारीको उच्च प्रशंसा गरेको सन्देश प्राप्त भएकाप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
समितिले निर्वाचनको वातावरण निर्माण गर्न स्वयं सरकार नै दलहरुसमक्ष पुगिरहेको जनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाले समितिसँगको छलफल उत्साहजनक भएको प्रतिक्रिया दिनुभयो ।