काठमाडौँ, ९ पुस: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक रहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उहाँले पर्यटन क्षेत्र नेपालमा रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्त्वपूर्ण आधार रहँदै आएको बताउनुभयो ।
अध्यक्ष ढकालले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताउनुभयो । “पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपि, पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदो अवस्थामा छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चयायमान बनाउन ठूलो सहयोग गरेको छ”, उहाँले भन्नुभयो ।
पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको र यसले महिलालाई आत्मनिर्भर बन्न सघाउन पु¥याएको चर्चा गर्दै अध्यक्ष ढकालले महासङ्घले महिलाको उद्यमशीलता विकास तथा नेतृत्व विकसमा थुप्रै नीतिगत सुधार गरेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिँदै अब आन्तरिक पुँजी परिचालन गरेर पूर्वाधार निर्माण तथा अन्य उद्यमशील काम गर्न सकिने धारणा राख्नुभयो । सोही सोचका साथ महासङ्घको पहलमा रु १० अर्बमा नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम भइरहेको जानकारी दिँदै अध्यक्ष ढकालले आन्तरिक बचतलाई एकीकृत गर्न तथा उद्यमशीलताका लागि आवश्यक पुँजी व्यवस्था गर्न कम्पनीले सहयोग गर्ने बताउनुभयो ।