झापा, १३ पुस : पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ ।
सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
मेची भन्सारसहित मुलुकका आठवटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो ।
वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चुहावटमा कमी आउने प्रमुख कर अधिकृत न्यौपानेले बताउनुभएको छ । विश्व व्यापार सङ्गठनले अनलाइन भ्यालुएसन प्रणाली लागू गर्न आफ्ना सदस्य मुलुकलाई आग्रह गर्दै आएको थियो ।
प्रणाली शुभारम्भ गर्न आउनुभएका अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले यस प्रणालीबाट भन्सारमा हुने विभिन्न किसिमका अनियमिता र अनौपचारिक कारोबारमा कमी आउने बताउनुभयो । उहाँले सरकारले भन्सारमा सुशासन र करदातामैत्री व्यवस्थालाई प्रोत्साहित गरिरहेको जनाउँदै प्रणाली कार्यान्वयनमा निजी क्षेत्रले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य लिएको छ । जसमध्ये चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा रु छ अर्ब ८२ करोड दुई लाख ७२ हजार राजस्व सङ्कलन गरिसकेको कार्यालयले जनाएको छ ।