टक्सार (भोजपुर), १४ पुसः पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् ।
अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो । अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कूल मतदाता एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जानकारी दिनुभयो । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ जना र महिला ५९ हजार नौ सय ७७ र एक अन्य मतदाता रहेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । स्थानीय तह अनुसार भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ जना, षडानन्द नगरपालिका– २१ हजार आठ सय ९६, अरुण गाउँपालिका– १२ हजार छ सय ४३, आमचोक गाउँपालिका– १२ हजार चार सय ४४, पौवादुङमा गाउँपालिका– १० हजार छ सय ६३, टेम्केमैयुङ गाउँपालिका– १३ हजार पाँच सय ५७ मतदाता कायम छन् ।
यस्तै रामप्रसाद राई गाउँपालिका– ११ हजार नौ सय, साल्पासिलिछो गाउँपालिका– आठ हजार सात सय २४ र हतुवागढी गाउँपालिका १३ हजार सात सय ५० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख सुवेदीले बताउनुभयो । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारी गरिरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।