पुस १४, २०८२ सोमबार

चितवन १४ पुसः जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् ।  गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताउनुभयो ।उहाँले लगाएको गोलभेँडा, घीउ सिमी, काँक्रो लगायतले आहिले बजार मूल्य राम्रो पाएको छ । उहाँले भन्नुभयो, “खेतबाटै बिक्री गर्दा घीउ सिमी र गोलभेँडाको मूल्य राम्रो पाएको छ ।” खेतबाटै बिक्री गर्दा घीउ सिमी रु १२० देखि १३० र गोलभेँडाप्रति क्रेटको रु एक हजार ६०० सयदेखि दुई हजार ६०० सम्ममा बिक्री भएको उहाँले बताउनुभयो । 

उहाँले अहिले तीन बिघा क्षेत्रफलमा तरकारीखेती गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा तरकारीखेती गर्दै आउनु भएका उहाँ विगतका वर्षको तुलनामा यो वर्ष तरकारीले राम्रो मूल्य पाएको बताउनुहुन्छ । तरकारी खेतीमा ग्रेडिङ् गरेर बिक्री गर्न सके मूल्य राम्रो पाउने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–२१ का शिवराज बराल पनि आँफूले लगाएको तरकारीले मूल्य पाएपछि निकै खुसी हुनुहुन्छ । विगत सात वर्षदेखि व्यावसायीक रुपमा तरकारीखेती गर्दै आउनुभएका उहाँले एक बिघा १० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो “विगतका वर्षको तुलनामा अहिले तरकारीले मूल्य राम्रो पाएको छ ।” अहिले लौका, काँक्रो, गोलभँेडालगायतले राम्रो मूल्य पाएको जानकारी दिनुभयो ।

 घिरौला, करेलासमेत बिक्रीका लागि बजार खोज्न जानुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । केरुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीले गएको तीन महिनायता किसानले तरकारीको मूल्य राम्रो पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “तीन महिनाअघि राम्रो थिएन । अहिले राम्रो छ । ”बजारको अवस्था हेर्दा फेरि मूल्य ओरालो लाग्ने सङ्केत देखिएको उहाँले बताउनुभयो । 

वर्षमा तीन खेती तरकारी लगाउँदा कुनै न कुनै खेतीमा मूल्य नपाउँदा मर्कापर्ने गरेको उहाँले बताउनुभयो । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय उत्पादनले बजार पाइएन भन्ने गुनासो हुने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र बजार पाउन कठिन नहुने बताउनुभयो । 

जिल्लामा हाल सात हजार ७७ दशमलब ९ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरिँदै आएको छ । असोजमा परेको पानीका कारण अहिले तरकारी उत्पादन कम भएकाले पनि बजार मूल्य पाएको उहाँले बताउनुभयो । यहाँको तरकारी विदेशी बजारमासमेत माग हुन थालेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँको उत्पादन दुबईमासमेत जान थालेको छ ।”कार्यालयले व्यावसायिक तरकारी खेतीमा मागका आधारमा लगानी गर्दै आएको बताउनुभयो ।